२ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसभित्रको आन्तरिक फुट र विवादले आगामी निर्वाचनको कार्यतालिकालाई कुनै असर नगर्ने स्पष्ट पार्नुभएको छ ।
शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित अत्याधुनिक प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले मुलुक निर्वाचनको महाअभियानमा होमिसकेकाले कसैको पारिवारिक वा दलीय झगडाले राष्ट्रिय राजनीति र लोकतान्त्रिक प्रक्रिया नरोकिने बताउनुभयो । निर्वाचनको पूर्वसन्ध्यामा ठूलो दल विभाजित हुनु सुखद नभए पनि यसैलाई बहाना बनाएर चुनाव सार्ने वा अन्य विकल्प सोच्नु मुलुकका लागि ठूलो दुर्घटना हुन सक्ने उहाँको चेतावनी छ ।
संयोजक प्रचण्डले निर्वाचनको सुनिश्चितताका बारेमा आफूले सरकारका प्रतिनिधि, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँग घनिभूत छलफल गरेको जानकारी दिँदै सबै संयन्त्रहरू तयारीको अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । ‘कांग्रेसभित्रको समस्या उहाँहरूको आन्तरिक मामिला हो, यसले समग्र देशको चुनावलाई प्रभावित गर्दैन भन्नेमा आयोग र सुरक्षा निकाय विश्वस्त छन्,’ उहाँले भन्नुभयो । उहाँले आफ्नो दलले प्रत्यक्षतर्फका उम्मेदवारहरूलाई टिकट वितरण गर्ने कार्य समेत सुरु गरिसकेको बताउँदै सबै दलहरू चुनावतर्फ नै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
भरतपुर महानगरको गौरवका रूपमा ठडिएको ५३ करोड ३२ लाख ४१ हजार लागतको ६ तले भवन उद्घाटन गर्दै प्रचण्डले विकास र समृद्धिको यात्रामा भरतपुरले देशभरकै लागि मानक स्थापित गरेको चर्चा गर्नुभयो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले विगतमा जीर्ण भवन र विभिन्न स्थानबाट छरिएर सेवा प्रवाह गर्दा परेको कठिनाइ अब अन्त्य हुने बताउनुभयो । प्रचण्डले अहिलेको मुख्य कार्यभार नै चुनावमार्फत राजनीतिक स्थिरता हासिल गर्नु रहेको भन्दै कुनै पनि बहानामा निर्वाचन टार्ने खेलमा नलाग्न सबैलाई सचेत गराउनुभयो ।















