Logo

३ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भइसकेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् ।

शुक्रबार राति जारी गरेको प्रेस विज्ञप्तिमा सभापति थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको स्पष्ट पार्दै निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार निर्णय गरेको बताएका छन् । आयोगको निर्णयलाई उनले कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरिएको इमानदार प्रयासको साझा प्रतिफलका रूपमा व्याख्या गरेका छन्।

थापाले पार्टी अब कुनै एक नेताको चाहनाले मात्र नभई आम सदस्यको चाहनाअनुसार सञ्चालन हुने स्पष्ट गर्दै कांग्रेस आफ्ना मूल मूल्य, मान्यता र आदर्शमा फर्किएको दाबी गरेका छन् । विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत वा असहमत सबै नेताकार्यकर्तालाई यो विषयलाई जित र हारको रूपमा नलिई संयमित र जिम्मेवार ढंगले लिन आग्रह गरेका छन् ।

उनका अनुसार कांग्रेस अब नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको छ र पार्टीभित्र रिफर्मको यात्रा औपचारिक रूपमा सुरु भइसकेको छ । आगामी निर्वाचनमा उच्च आत्मविश्वासका साथ एकढिक्का भएर लाग्नुपर्ने उनको भनाइ छ ।

सभापति थापाले शेरबहादुर देउवालगायत पार्टीका विभिन्न तहका नेताहरूले यस लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै साथ दिने विश्वास व्यक्त गरेका छन् । अब कांग्रेसमा कुनै गुट नरहने, गुटगत भागबण्डा नहुने र जिम्मेवारी फरक भए पनि सदस्य र सभापतिको हैसियत समान रहने उनको दाबी छ ।

नेपाली कांग्रेस आम नागरिकको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै थापाले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मालोचना गरिएको र उपलब्धिलाई समयअनुसार संस्थागत गर्ने सङ्कल्प लिइएको जनाएका छन् । कांग्रेस बदलिएको र अझ बदलिने दाबी गर्दै उनले मूल्य र सिद्धान्त विपरीत कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

लोकतन्त्र, संविधानको रक्षा र समुन्नतिको नेतृत्व कांग्रेसले गर्ने उल्लेख गर्दै सभापति थापाले त्यसका लागि जनताको साथ र विश्वास अपरिहार्य रहेको बताएका छन् ।


सम्बन्धित समाचार