३ माघ, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । सो पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। आयोगको आधिकारिकतासम्बन्धी निर्णयलाई देउवा पक्षले अस्वीकार गर्दै आएको छ ।
पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएका थिए । सभापति चयनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको थियो ।
देउवा पक्षले पनि आफूहरू नै आधिकारिक नेतृत्व भएको जिकिर गर्दै आयोगमा छुट्टै कागजात पेस गरेको थियो । तर निर्वाचन आयोगको निर्णयसँगै नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रुख’ र चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ ।
आजको बैठकमा आयोगको निर्णय, आगामी रणनीति र संगठनात्मक अवस्थाबारे छलफल हुने बताइएको छ ।















