३ माघ, काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम तय भएकाले त्यसअघि उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन बैठक बोलाइएको हो।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसका आधारमा सचिवालय बैठकले अन्तिम निर्णय गर्ने तयारी गरेको छ।
हालसम्म अध्यक्ष केपी शर्मा ओलीसहित ३५ जना नेताको नाम सर्वसम्मत रूपमा सिफारिस भइसकेको बताइएको छ। कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभइसकेकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिन्हबाट उम्मेदवार अघि बढाउने तयारी गरेको छ।
दुर्गम भेगमा रहेका उम्मेदवारलाई निर्वाचन क्षेत्रमा पुग्न र मनोनयन प्रक्रियाको तयारी गर्न समय लाग्ने भएकाले पनि समयमै उम्मेदवारी टुंग्याउन लागिएको शाहीले जानकारी दिए। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो।















