Logo

३ माघ, काठमाडौँ । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेका छन्। पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चुनिएका थापाले आयोगको वैधानिकतासँगै पार्टी सञ्चालनको पूर्ण कमान्ड सम्भालेका हुन्।

पार्टीको केन्द्रीय कमिटी बैठक आज बिहान ११:३० बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने तय भएको छ । बैठकमा मुख्य गरी वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, आसन्न निर्वाचनका लागि पार्टीको रणनीति र भावी कदमबारे घनीभूत छलफल हुने बताइएको छ ।

थापा पक्षले बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित आधिकारिकताका लागि आयोगमा दाबी पेस गरेको थियो । शुक्रबार निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता प्रदान गर्ने निर्णय गरेपछि यो बैठक बोलाइएको हो ।

आयोगको निर्णयसँगै सभापति थापा अब प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार चयनको प्रक्रियामा व्यस्त छन्। उनले पार्टीको तर्फबाट सक्षम र लोकप्रिय उम्मेदवारहरूलाई चुनावी मैदानमा उतार्ने गृहकार्य सुरु गरिसकेका छन्।

आयोगको पछिल्लो निर्णय नेपाली कांग्रेसको संस्थापन (देउवा) पक्षका लागि ठूलो राजनीतिक धक्का सावित भएको छ। देउवा पक्षले आफूहरू नै आधिकारिक भएको जिकिर गर्दै छुट्टै कागजात पेस गरे पनि आयोगले विशेष महाधिवेशनको बहुमत र वैधानिकतालाई मान्यता दिएको छ।

आयोगको यो फैसलासँगै नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिह्न ‘रुख’ र ‘चारतारे झण्डा’ माथिको अधिकार देउवा पक्षबाट गुमेको छ। अब यी दुवै पहिचान गगन थापा नेतृत्वको कांग्रेसको आधिकारिक सम्पत्ति बनेका छन्।

यसअघि, २०७४ को स्थानीय निर्वाचन र अघिल्ला महाधिवेशनहरूमा कडा प्रतिस्पर्धा भए पनि यसपटकको ‘विशेष महाधिवेशन’ले कांग्रेसको नेतृत्व र पहिचानमा मौलिक परिवर्तन ल्याइदिएको छ।


सम्बन्धित समाचार