Logo

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भइसकेको स्पष्ट गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन्।

सभापति थापाले बुधबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार अघि बढेको र निर्वाचन आयोगले सोही आधारमा निर्णय गरेको उल्लेख गरेका हुन्। आयोगको निर्णयप्रति आभार व्यक्त गर्दै उनले विशेष महाधिवेशन पूर्णतः वैधानिक र विधिसम्मत रहेको दाबी गरेका छन्।

विज्ञप्तिमा नेपाली कांग्रेस कुनै एक नेताको चाहनाले होइन, आम सदस्यको चाहनाले चल्ने पार्टी भएको उल्लेख गरिएको छ। विशेष महाधिवेशनमार्फत पार्टी आफ्ना मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्किएको र सुधार (रिफर्म) को यात्रा सुरु भइसकेको थापाको भनाइ छ।

‘पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्छ र बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्ना मूल्य–मान्यता र आदर्शमा फर्किएको छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीभित्र गुट अन्त्य भइसकेको दाबी गर्दै अब गुटगत भागबण्डा नहुने पनि उल्लेख गरिएको छ। साथै, सबै तहका नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र एकताबद्ध भएर अघि बढ्न आग्रह गरिएको छ।


सम्बन्धित समाचार