Logo

३ मांघ,ललितपुर। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष ले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई दिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठकले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्न खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। यसअघि शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा लाई आधिकारिकता दिँदै देउवा नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गरेको थियो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानुनी काम कारबाही गर्नका लागि कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरिन्छ।”

देउवा पक्षले निर्वाचन आयोगको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत रहेको ठहर गरेको छ। बैठकले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको निष्कर्ष निकालेको छ।

विज्ञप्तिमा भनिएको छ, “तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता तथा उपस्थित संख्या समेत नहेरी एकलौटी रूपमा गरिएको निर्णय दूषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ।”

देउवा पक्षले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित समितिलाई अवैधानिक ढंगले परिवर्तन गर्नु लोकतान्त्रिक व्यवस्थामाथिको प्रहार भएको आरोप लगाएको छ। बैठकले कानुनी उपचार खोज्नुका साथै निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवाद गर्ने निर्णयसमेत गरेको जनाएको छ।


सम्बन्धित समाचार