११ फागुन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका-११ श्रीपुरमा आइतबार साँझ उत्पन्न तनावपूर्ण स्थिति सुरक्षाकर्मीको सक्रियतापछि अहिले सामान्य बनेको छ । दुई समुदायबीचको सामान्य विवादले साम्प्रदायिक मोड लिन खोजेपछि प्रहरीले तत्काल हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको हो ।
अहिले श्रीपुर क्षेत्रमा जनजीवन सामान्य बन्दै गए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ भने स्थानीय प्रशासनले स्थितिलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको जनाएको छ।

के भएको थियो घटना ?
आइतबार साँझ श्रीपुरस्थित मस्जिद नजिक सडकमा उभिएका युवाहरूमाथि विनाकारण कुटपिट भएपछि विवाद सुरु भएको थियो । कुटपिटबाट स्थानीय ललन महतो, अमर महतो र धिरज साहसहित चार जना युवा घाइते भएका छन् । घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार, घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ । घटनाका मुख्य आरोपी भनिएका नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य मोहम्मद निजाम भने हाल फरार रहेका छन् । उनको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनको संघारमा भएको यो झडपलाई स्थानीय युवाहरूले राजनीतिक रङ दिइएको आरोप लगाएका छन् । निर्वाचनमा हार निश्चित देखिएपछि केही शक्तिले साम्प्रदायिक दङ्गा भड्काएर चुनावी वातावरण बिथोल्न खोजेको स्थानीयको दाबी छ ।
डिएसपी बस्नेतले भने, “विनाकारण कुटपिट गरी सामाजिक सद्भाव बिगार्ने प्रयास भएको आशंकामा हामीले अनुसन्धान तीव्र पारेका छौँ । फरार रहेकाहरूको खोजी कार्य जारी छ । कसैलाई पनि कानुन हातमा लिने छुट दिइने छैन ।”
स्थानीय प्रशासनले वीरगञ्जवासीलाई कुनै पनि प्रकारको भ्रम वा उक्साहटमा नलाग्न र आपसी भाइचारा एवं सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । अहिले श्रीपुरको अवस्था सामान्य रहेकाले निर्धक्क भएर दैनिक कामकाज गर्न र शान्ति सुरक्षामा सहयोग पुर्याउन आग्रह प्रहरीले गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा अनर्गल प्रचार गर्नेहरूमाथि पनि निगरानी बढाएको जनाएको छ ।
यो पनि :
वीरगञ्जको श्रीपुरमा दुई समुदायबीच तनाव, अवस्था नियन्त्रणमा ल्याउन कडा सुरक्षा व्यवस्था

















