Logo

११ फागुन, गौर (रौतहट) । केही दिनदेखि साम्प्रदायिक तनावका कारण अशान्त बनेको रौतहटको सदरमुकाम गौरमा सोमबार बिहान नागरिक समाजको अगुवाइमा भव्य ‘शान्ति सद्‍भाव र्‍याली’ निकालिएको छ । दुई समुदायबीचको विवादले उग्र रूप लिएपछि जारी गरिएको कर्फ्यु जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि पूर्ण रूपमा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको हो ।

शान्ति र भाइचाराको सन्देश दिन गौर नगरपालिका-६, सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित गाउँका विभिन्न भागको परिक्रमा गरेको थियो । र्‍यालीमा “हाम्रो गौर, राम्रो गौर”, “सामाजिक सद्‍भाव कायम राखौँ” जस्ता नाराहरू लगाइएका थिए ।

null

गाउँमा दिगो शान्ति कायम राख्न र आपसी विश्वास पुनर्स्थापना गर्न निकालिएको उक्त र्‍यालीमा नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, सुरक्षा निकायका अधिकारी र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । विवादपछि उत्पन्न भएको त्रास र संशयलाई हटाउन सबै पक्षले एकजुट भएर सहकार्य गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।

कर्फ्यु हटेसँगै बजार खुला

जिल्ला प्रशासन कार्यालय रौतहटले सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहानैदेखि कर्फ्यु हटाएको छ । कर्फ्यु हटेसँगै सबगढा र आसपासका क्षेत्रका पसल तथा व्यवसायहरू खुल्न थालेका छन् भने सडकमा सवारी साधन र सर्वसाधारणको चहलपहल बढेको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थितिलाई उत्तेजित बनाउने कुनै पनि गतिविधि नगर्न र सामाजिक सद्‍भावमा खलल पुग्ने कार्यबाट टाढा रहन सबैमा अपिल गरेका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा प्रहरीको गस्ती भने अझै केही समय जारी रहने प्रशासनले जनाएको छ।

विवाहको बाजा बजाउने विषयमा सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि गौरमा केही दिनदेखि तनाव उत्पन्न भएको थियो । आजको यो सद्‍भाव र्‍याली र कर्फ्युको अन्त्यले गौरवासीमा पुनः शान्तिको आशा जगाएको छ ।

यो पनि :

गौरको साम्प्रदायिक तनाव मत्थर हुँदै: सद्भाव र्‍याली निकालिँदै, वडाध्यक्षसहित २३ जना प्रहरी नियन्त्रणमा


सम्बन्धित समाचार