Logo

३० असार, काठमाडौँ । पूर्वी पहाडी तथा तराईका जिल्लाहरूमा लगातार भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न थालेको छ। बहाव बढेर जोखिमको तह नजिक पुगेपछि कोसी ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको छ ।

सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार पछिल्लो मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव १ लाख ७२ हजार ४ सय ३२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ । पानीको सतह लगातार उकालो लाग्ने क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

नदीमा पानीको चाप बढेसँगै हुनसक्ने सम्भावित जोखिम र दुर्घटनालाई मध्यनजर गर्दै कोसी ब्यारेज प्रशासनले ढोकाहरू खोल्ने क्रम बढाएको छ। ब्यारेजमा रहेका कुल ५२ वटा मूल ढोका र २ वटा नहरका ढोका गरी ५६ ढोकामध्ये हाल २० वटा ढोका पूर्ण रूपमा खुल्ला गरिएको कोसी ब्यारेजको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) ले जनाएको छ। पानीको बहाव अझै बढेमा क्रमशः अन्य ढोकाहरू पनि खोल्दै जाने तयारी गरिएको छ।

तराईका तल्लो तटबन्ध र श्रीलंका टापु लगायतका क्षेत्रमा नदीको भंगालो पस्न सक्ने खतरालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदीमा माछा मार्न तथा दाउरा संकलन गर्न नजान आग्रह गरेको छ। सुनसरी र सप्तरीका सुरक्षा निकायहरूलाई सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा (अलर्ट) राखिएको छ।


सम्बन्धित समाचार