Logo

२९ असार, काठमाडौं । लगातारको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुई प्रमुख सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाले खोलानालामा पानीको बहाव बढेको र सडक यातायात उच्च जोखिममा परेकाले यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रशासनले यो सुरक्षात्मक कदम चालेको हो ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सोमबार एक सूचना जारी गर्दै जोखिमयुक्त सडकखण्डहरूमा सवारी साधन सञ्चालन नगर्न र तोकिएका स्थानमै सवारी रोक्न निर्देशन दिएका छन् ।

प्रशासनको निर्णयअनुसार कान्तिलोकपथ अन्तर्गतको हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडकखण्डमा सोमबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

उक्त सडक प्रयोग गर्ने सवारी साधनहरूलाई हेटौँडा उपमहानगरपालिका–६ चौघडामा रोक्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी, हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकखण्डमा पनि सोमबार साँझ ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालन बन्द गरिएको छ ।

यस वैकल्पिक मार्गमा गुड्ने सवारी साधनहरूलाई भने हेटौँडा–१ को चौकीटोलमा रोक्ने व्यवस्था गरिएको छ। विपत्तिको यो समयमा सम्भावित दुर्घटनाबाट बच्न र सडक मार्ग सुरक्षित नभएसम्म यात्रा गर्दा सावधानी अपनाउन प्रशासनले सम्पूर्ण यात्रु र चालक वर्गमा आग्रह गरेको छ ।


सम्बन्धित समाचार