Logo

२९ असार,काठमाडौं । भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा दुर्घटना हुँदा नौ जना कामदारको मृत्यु भएको छ।

पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोर प्रशोधन केन्द्रमा गत बुधबार दुर्घटना भएको हो। भारी वर्षाका कारण नजिकै रहेको ल्यान्डफिल (फोहोर विसर्जन स्थल) अस्थिर बनेपछि हजारौँ टन फोहोर खस्दा केन्द्रको प्रशासनिक भवनमा रहेका २३ जना व्यक्ति पुरिएका थिए।

केन्द्र सञ्चालक कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा निरन्तरको वर्षाका कारण ल्यान्डफिल कमजोर बनेर फोहोर खसेको र भवनमा क्षति पुगेको उल्लेख गरेको छ।

कम्पनीका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने १४ जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले लगातारको वर्षा र कठिन अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाएको छ।

संरचनागत तथा सुरक्षासम्बन्धी जाँच पूरा नभएसम्मका लागि फोहोर प्रशोधन केन्द्रको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ।

भारतमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुन अवधिमा भारी वर्षाका कारण भवन, पूर्वाधार र पहिरोजन्य दुर्घटनाहरू हुने गरेका छन्। लामो समयको वर्षाले कमजोर संरचना भत्किने जोखिम बढाउने गर्छ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भारतमा अतिवृष्टि, अत्यधिक गर्मी र अन्य चरम मौसमी घटनाको आवृत्ति तथा तीव्रता बढ्दै गएको छ। मौसमविद्हरूले यस वर्ष सम्भावित शक्तिशाली ‘एल निनो’ प्रभावले भारतको मौसमी चक्रमा असर पार्न सक्ने चेतावनी दिएका छन्।


सम्बन्धित समाचार