२९ असार, काठमाडौं । अन्तर्राष्ट्रियस्तरका संस्था वा व्यक्तिसँग सहकार्य गर्दा सावधानी अपनाउन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले बताउनु भएको छ ।
मन्त्री पुनले प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा यस्तो बताउनु भएको हो ।
अन्तर्राष्ट्रिय स्तरका संस्था वा विज्ञसँग सहकार्य गर्दा पनि विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ । विदेशबाट आएका सबै व्यक्तिलाई स्वतः विज्ञ मान्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।
उहाँले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी कानुन कार्यान्वयनमा जोड जोड दिनुभएको छ । उहाँका अनुसार अध्ययन, अनुगमन र मूल्याङ्कनका प्रतिवेदन मात्र तयार गरेर थन्क्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने छ ।
प्रतिवेदन तयार गर्नु मात्र पर्याप्त नभई त्यसलाई कार्यान्वयन गराउने स्पष्ट संयन्त्र र निर्देशन आवश्यक रहेको बताउादै विगतमा विभिन्न आयोग र समितिले अध्ययन गरी प्रतिवेदन बुझाए पनि ती कार्यान्वयनमा नआएको अनुभव स्मरण गर्नुभएको छ ।
विधि विज्ञान प्रयोगशालामा कार्यरत प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि नियमित तालिम आवश्यक रहेको बताउँदै तालिममा सम्बन्धित विषयका प्राविधिक र विज्ञलाई मात्र सहभागी गराइनुपर्नेमा जोड दिनुभयो ।



















