Logo

२९ असार,काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं, ललितपुर र भक्तपुरसहित देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुली जिल्लामा बाढीको जोखिम रहेको छ।

त्यस्तै सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलाली जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जोखिम भएका क्षेत्रका नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनार, होचा भूभाग तथा डुबानको सम्भावना रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

निरन्तर वर्षाका कारण साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने तथा केही स्थानमा डुबान र कटानको जोखिम हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।

सम्बन्धित जिल्लाका स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन संयन्त्रलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी गर्न तथा विपद्का घटना भए तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन महाशाखाले आग्रह गरेको छ।

 


सम्बन्धित समाचार