Logo

२९ असार,काठमाडौं । काठमाडौंका विभिन्न मिडिया हाउसका कार्यालय गेटमा अवरोध हुने गरी पार्किङ गरिएका बेवारिसे गाडी प्रहरीले हटाएको छ।

प्रहरीले क्रेनको प्रयोग गरी ती गाडी उठाएर अन्यत्र लगेको हो। सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर दैनिक, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको गेटमा निजी नम्बरप्लेटका कार पार्किङ गरिएको भेटिएको थियो।

कारका धनीको पहिचान अहिलेसम्म हुन सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौं प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले तीनवटै सञ्चारगृहबाट गाडी हटाइएको जानकारी दिए। उनले सवारीधनीको खोजीका लागि यातायात कार्यालयसँग समन्वय भइरहेको बताए।

मिडिया हाउसको प्रवेशद्वारमै आवतजावतमा अवरोध पुग्ने गरी एकै समयमा गाडी पार्किङ गरिनुलाई प्रहरीले शंकास्पद रूपमा लिएको छ। गाडी कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार