Logo

२९ असार,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित घर अगाडि पनि सोमबार बिहान शंकास्पद रूपमा गाडी तेर्स्याएर राखिएको छ।

थापाको घर अगाडि बिहान करिब ७ बजेदेखि मोटरसाइकलसमेत बाहिर निकाल्न नमिल्ने गरी गाडी राखिएको हो। गाडीका कारण सभापति थापासहित छिमेकीलाई समेत आवतजावतमा समस्या भएको बताइएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार गाडी राख्ने व्यक्ति केही समयपछि नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर गएको देखिएको थियो। गाडीधनी प्रहरीको भ्यानमा चढेर गएपछि स्थानीयवासीले गाडी हटाउनसमेत डराएको बताएका छन्। यस विषयमा प्रहरीले भने औपचारिक जानकारी दिएको छैन।

यसअघि सोमबार बिहान काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालय अगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो। तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँबानेश्वरस्थित अनलाइनखबरको गेटमा कार्यालय प्रवेश अवरुद्ध हुने गरी गाडी राखिएका थिए।

प्रहरीले ती गाडीहरू क्रेनको प्रयोग गरी हटाइसकेको छ। गाडी कसले र किन राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

मिडिया हाउस र राजनीतिक दलका नेताको निवास अगाडि एकै दिन शंकास्पद रूपमा गाडी राखिएपछि घटनालाई लिएर विभिन्न तहबाट चासो व्यक्त गरिएको छ।


सम्बन्धित समाचार