३० असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले प्रेस तथा सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारको दबाब, त्रास र अराजक गतिविधिको निन्दा गर्दै स्वतन्त्र प्रेसको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै परियारले सत्तामा भएकै कारण कसैको स्वार्थका लागि प्रेसमाथि दबाब सिर्जना गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए। उनले कसैको नाम नलिए पनि सञ्चारगृहको प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत अवरुद्ध बनाइएको घटनाप्रति असन्तुष्टि जनाउँदै त्यसको कडा शब्दमा भर्त्सना गरे।
उनले सञ्चारमाध्यमलाई भौतिक रूपमा अवरोध गरेर त्रसित बनाउने प्रयास लोकतन्त्रमाथिकै आक्रमण भएको उल्लेख गर्दै सत्यसँग डराउनेहरूले मात्रै यस्ता गतिविधि गर्ने बताए।
परियारले भने, “हामी सत्तामा छौँ भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्। लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र प्रेसको प्रतिरक्षा गर्न हामी अग्रसर नभए अरू को बोल्छ?”
उनले नेपाली प्रेसले विगतमा निरंकुश शासनकालदेखि नै अनेक चुनौतीको सामना गर्दै स्वतन्त्र पत्रकारिताको अभ्यासलाई निरन्तरता दिएको स्मरण गराउँदै अहिलेका यस्ता गतिविधिबाट सञ्चारमाध्यम नडराउने बताए।
“हिजो राजधानीमा अग्रणी सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर सञ्चारगृहलाई तर्साउने कुत्सित प्रयास गरियो। म यसको कडा शब्दमा भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै हो,” उनले भने।
परियारले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा सैनिकहरू समाचार कक्षमै पुगेर समाचार सेन्सर गर्ने अवस्थासमेत नेपाली सञ्चारमाध्यमले सामना गरेको स्मरण गर्दै त्यस्तो कठिन परिस्थितिमा पनि नझुकेको नेपाली प्रेस सामान्य दबाबबाट विचलित नहुने बताए।
उनले रास्वपा पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको पक्षमा दृढ रहेको उल्लेख गर्दै सबै सञ्चारगृह र पत्रकारले निर्बाध रूपमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न गृह प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराए।


















