Logo

 ३० असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले देशमा बढ्दो निराशा र राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै राष्ट्र, लोकतन्त्र र संविधानको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले देशमा ‘बाँच्न सकिन्न’ भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरे। उनले जनतामा निराशा बढिरहेको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई राजनीतिक दलहरूले गम्भीर रूपमा लिनुपर्ने बताए।

सभामुखले बैठक प्रारम्भ गरेलगत्तै सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूसँगै उभिएका सिंहले सत्ता र प्रतिपक्ष स्थायी नहुने भन्दै राष्ट्रिय हितका विषयमा सबै दलबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

“म संसद्भित्र र संसदबाहिर रहेका सबै राजनीतिक दललाई आग्रह गर्न चाहन्छु, यसलाई घोचपेचको विषय नबनाऔँ। राज्य, जनता र लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला। कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा, तर सत्ता र प्रतिपक्ष स्थायी हुँदैन,” उनले भने।

सिंहले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई साझा राष्ट्रिय एजेन्डामा एकजुट हुन आग्रह गर्दै देशको वर्तमान चुनौती सामना गर्न राजनीतिक एकता अपरिहार्य रहेको बताए।

उनले जनतालाई आश्वस्त पार्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै सबै दल मिलेर अघि बढे मात्रै राष्ट्र, संविधान र लोकतान्त्रिक व्यवस्था सुरक्षित रहने विश्वास व्यक्त गरे।

“जनतालाई भनौँ, हामी सम्पूर्ण दल मिल्यौँ भने मात्रै यो राष्ट्र बाँच्न सक्छ, यो संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ र देशको निराशा हट्न सक्छ,” उनले भने।

सिंहले देश निर्माणको जिम्मेवारी सबै राजनीतिक दलको साझा दायित्व भएको उल्लेख गर्दै आपसी आरोप–प्रत्यारोपभन्दा राष्ट्रिय सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।


सम्बन्धित समाचार