३० असार,काठमाडौं । फिफा विश्वकप २०२६ आफ्नो रोमाञ्चक अन्तिम चरणमा प्रवेश गरेको छ। ४८ टोलीको सहभागितासहित पहिलो पटक विस्तारित ढाँचामा आयोजना गरिएको विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा अब केवल चार टोली मात्रै उपाधिको दौडमा बाँकी छन्। आज र भोलि मध्यरातमा हुने दुई सेमिफाइनल खेलपछि फाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ भने जुलाई १९ मा हुने फाइनलबाट विश्वले २३औँ संस्करणको विश्वकप विजेता पाउनेछ।
विश्वकप अन्तिम चरणमा पुगेसँगै उपाधिको प्रतिस्पर्धासँगै पुरस्कार राशिको चर्चा पनि चुलिएको छ। यसपटक फिफाले इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशि घोषणा गरेको छ। फिफाका अनुसार विश्वकप २०२६ का लागि कुल ८७१ मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३३ अर्ब ७७ करोड रुपैयाँ) पुरस्कार छुट्याइएको छ।
यसअघि फिफाले प्रतियोगिताका लागि ७२७ मिलियन डलर पुरस्कार रहने जनाएको थियो, जुन कतारमा सम्पन्न २०२२ विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी थियो। तर, अप्रिलमा फिफाले तयारी भत्ता तथा टोलीलाई प्रदान गरिने आधारभूत आर्थिक सहयोग बढाउँदै कुल पुरस्कार राशि ८७१ मिलियन डलरसम्म पुर्याएको हो।
विजेताले पाउनेछ ५० मिलियन डलर
प्रतियोगितामा टोलीले जति उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्छ, त्यति नै बढी पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ। फिफाले प्रतियोगिताको अन्तिम स्थानअनुसार पुरस्कार निर्धारण गरेको छ।
विश्वकप विजेताले ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब ६६ करोड ५० लाख रुपैयाँ) प्राप्त गर्नेछ भने उपविजेताले ३३ मिलियन डलर (करिब ५ अर्ब ५ करोड ८९ लाख रुपैयाँ) पाउनेछ।
तेस्रो स्थान हासिल गर्ने टोलीले २९ मिलियन डलर (करिब ४ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ) र चौथो हुने टोलीले २७ मिलियन डलर (करिब ४ अर्ब १३ करोड ९१ लाख रुपैयाँ) प्राप्त गर्नेछन्।
त्यसैगरी, क्वार्टरफाइनलसम्म पुग्ने पाँचौँदेखि आठौँ स्थानका टोलीले १९ मिलियन डलर, प्रि–क्वार्टरफाइनलमा पुगेका नवौँदेखि १६औँ स्थानसम्मका टोलीले १५ मिलियन डलर, समूह चरण पार गर्न नसके पनि १७औँदेखि ३२औँ स्थानमा रहने टोलीले ११ मिलियन डलर तथा अन्तिम ३३औँदेखि ४८औँ स्थानसम्म रहने टोलीले ९ मिलियन डलर प्राप्त गर्नेछन्।
प्रदर्शनका आधारमा मात्रै फिफाले यस संस्करणमा ७०३ मिलियन अमेरिकी डलर पुरस्कार वितरण गर्नेछ।
प्रत्येक टोलीलाई न्यूनतम १२.५ मिलियन डलर सुनिश्चित
विश्वकपमा सहभागी कुनै पनि टोली खाली हात फर्किने छैन। फिफाले प्रतियोगितामा सहभागी सबै ४८ टोलीका लागि प्रदर्शनभन्दा बाहिरको आर्थिक सहयोग पनि सुनिश्चित गरेको छ।
कुल पुरस्कारमध्ये १६८ मिलियन अमेरिकी डलर सबै टोलीलाई समान रूपमा वितरण गरिनेछ। यसअन्तर्गत प्रत्येक टोलीले २.५ मिलियन डलर तयारी भत्ता (प्रिपरेशन मनी) प्राप्त गर्नेछ।
यससँगै सहभागी प्रत्येक टोलीलाई न्यूनतम १० मिलियन डलर सहभागिता शुल्क पनि उपलब्ध गराइने भएकाले समूह चरणमै बाहिरिए पनि प्रत्येक टोलीले कम्तीमा १२.५ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ९१ करोड ६२ लाख रुपैयाँ) प्राप्त गर्ने सुनिश्चित भएको छ।
फिफाका अनुसार तयारी भत्ता प्रशिक्षण शिविर सञ्चालन, खेलाडीको तयारी, यात्रा व्यवस्थापन तथा प्रतियोगिताअघिका आवश्यक खर्चका लागि प्रयोग गरिनेछ। त्यस्तै अतिरिक्त आर्थिक सहयोग टोलीको प्रशासनिक खर्च, भ्रमण व्यवस्थापन, टिकट व्यवस्थापन तथा विभिन्न देशका फुटबल संघबीच रहेको आर्थिक असमानता कम गर्ने उद्देश्यले उपलब्ध गराइएको हो।
सन् २०२६ को विश्वकप पहिलो पटक ४८ टोलीको सहभागितामा आयोजना गरिएको हो। टोली संख्या बढेसँगै खेल संख्या, प्रतियोगिताको अवधि तथा पुरस्कार राशिमा पनि उल्लेखनीय वृद्धि गरिएको छ। करिब ३९ दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताले विश्व फुटबलमा नयाँ आर्थिक मापदण्ड स्थापित गरेको फिफाको भनाइ छ।
यसपटकको विश्वकपको सेमिफाइनलमा पुगेका चारै टोली यसअघि विश्वकप जितिसकेका राष्ट्र हुन्। फ्रान्स, स्पेन, अर्जेन्टिना र इङ्ल्यान्ड अन्तिम चारमा पुगेकाले यस संस्करणबाट नयाँ विश्व विजेता जन्मिने सम्भावना समाप्त भएको छ।
अब सेमिफाइनलका दुई खेलपछि फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ। जुलाई १९ मा हुने उपाधि भिडन्तसँगै विश्व फुटबलले अर्को च्याम्पियन पाउनेछ भने इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशि पनि विजेता टोलीले आफ्नो नाममा पार्नेछ।



















