Logo

३० असार,वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष हालसम्म करिब ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो।

कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाका अनुसार जिल्लामा करिब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। तीमध्ये हालसम्म २७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ भने अझै २२ हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्न बाँकी रहेको उनले जानकारी दिए।

थापाका अनुसार यस वर्ष मनसुन ढिलो भित्रिनु र समयमै पर्याप्त वर्षा नहुनु धान रोपाइँ प्रभावित हुनुको मुख्य कारण हो। यही कारण गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रगति केही सुस्त देखिएको उनले बताए।

यद्यपि, पछिल्ला केही दिनदेखि निरन्तर वर्षा हुन थालेपछि जिल्लाभर धान रोपाइँले गति लिन थालेको छ। मौसम आगामी केही दिनसम्म अनुकूल रहेमा बाँकी क्षेत्रफलमा पनि छिट्टै धान रोपाइँ सम्पन्न हुने अपेक्षा कृषि ज्ञान केन्द्र पर्साले गरेको छ।


सम्बन्धित समाचार