Logo

३ फागुन, काठमाडौँ । आज हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिइन्छ।

पुराणका अनुसार, भगवान् शिव प्रकट भएको रातको स्मरणमा यो पर्व मनाइन्छ। शास्त्रहरूमा वर्णन गरिएका चार प्रमुख रात्रिहरू— कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिमध्ये यसलाई अत्यन्त पवित्र रात्रिका रूपमा लिइन्छ। विशेष गरी कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने र अध्यात्मको ज्योति जगाउने दिनका रूपमा यसको महिमा गाइन्छ।

परम्परा र पूजा विधि

महाशिवरात्रिका अवसरमा भक्तजनहरू शुद्ध भई शिव मन्दिरहरूमा पूजा–अर्चना गर्दै व्रत बस्ने परम्परा छ। भगवान् शिवलाई प्रिय मानिने दूध, धतुरो र बेलपत्र चढाएर उहाँको आराधना गरिन्छ। यस दिनलाई शिव–पार्वतीको विवाह भएको तथा ब्रह्माले रुद्ररूपी शिवलाई उत्पत्ति गराएको विशेष दिनका रूपमा पनि पौराणिक मान्यता दिइन्छ।

शिव पुराणका अनुसार, यस दिन उपवास बसी ‘ॐ नमः शिवाय’ मन्त्रको जप गर्दा पृथ्वीमा सुख–समृद्धि प्राप्त हुनुका साथै मृत्युपश्चात् मोक्ष मिल्ने विश्वास गरिन्छ। त्यस्तै, लिङ्ग पुराणले यस दिनको ध्यान र पूजाबाट शिवलोक प्राप्त हुने उल्लेख गरेको छ भने पद्म पुराणले व्रत बस्ने व्यक्ति आरोग्य र सौभाग्यले सम्पन्न हुने बताएको छ।

चार प्रहरको पूजा र साधना

शिवरात्रिको मुख्य पूजा विधिमा निर्जल व्रत, रात्रि जागरण र चार प्रहरको विशेष पूजा प्रमुख मानिन्छ। शिवलिंगमा दुग्धाभिषेक गर्नुका साथै प्रत्येक प्रहरमा जल, दूध, दही, घिउ, मह र बेलपत्र अर्पण गर्ने विधान छ। शिवमहापुराणको कोटिरुद्रसंहितामा शिवरात्रि व्रतलाई सबैभन्दा उत्तम धर्मसाधनका रूपमा व्याख्या गरिएको छ।

कोटिरुद्रसंहिता (३८र२१–२३) मा भनिएको छ, अर्थात्– मानिसहरूको हित गर्ने शिवरात्रि समान अन्य कुनै व्रत छैन। निष्काम वा सकाम जुनसुकै भावनाले व्रत बस्ने भक्तहरू यसबाट लाभान्वित हुन्छन्। चार वर्ण, चार आश्रम, स्त्री, पुरुष, बालक र वृद्ध सबैका लागि यो व्रत कल्याणकारी छ।

महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथ क्षेत्रमा विशेष रौनक देखिएको छ। पशुपति क्षेत्रमा लाग्ने ठुलो मेलाका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाट आएका साधु–सन्तहरूको बाक्लो उपस्थिति छ। भक्तजनको सुविधाका लागि यस वर्ष पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन र सुरक्षा प्रबन्धलाई विगतभन्दा थप प्रभावकारी बनाइएको छ।

पशुपतिनाथका अतिरिक्त भक्तपुरको डोलेश्वर महादेव, तनहुँ र चितवनको देवघाट धाम, खोटाङको हलेसी महादेव लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको ठुलो घुइँचो लागेको छ। छिमेकी मुलुक भारतका प्रसिद्ध धामहरू काशी विश्वनाथ, केदारनाथ, सोमनाथ र महाकालेश्वर ज्योतिर्लिङ्गमा पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ।


सम्बन्धित समाचार