Logo

३१ जेठ, मेचीनगर (झापा) । झापाको पूर्वी नाका मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय अगाडि बस्ने ६२ वर्षीया पद्मा पौडेललाई आज बिहान घरबाट बाहिर निस्कने क्रममा अचानक आएको एउटा जंगली हात्तीले आक्रमण गरेको हो। हात्तीले कुल्चिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक बीरेन्द्र कोईरालाको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यस क्षेत्रमा हात्तीको बथान भित्रिने क्रम बढेसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन्। स्थानीयका अनुसार पछिल्लो एक हप्तामा मात्रै सीमावर्ती मेची नदी पार गरेर करिब एक सयको संख्यामा जंगली हात्तीहरू नेपाल प्रवेश गरेका छन् ।

भारतबाट हुलका हुल हात्ती आउने र बस्ती पस्ने क्रम नरोकिँदा झापाको उत्तरी तथा पूर्वी क्षेत्रमा बर्सेनि धनजनको ठूलो क्षति हुने गरेको छ। हात्ती नियन्त्रणका लागि लगाइएका विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स) पूर्ण रूपमा प्रभावकारी नहुँदा स्थानीयले सधैँ भयभित अवस्थामा बस्नुपर्ने बाध्यता छ।


सम्बन्धित समाचार