Logo

३१ जेठ, काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक विवाद र असन्तुष्टि सम्बोधन गर्न उपसभापति विश्वप्रकाश शर्माले अघि सारेको सातबुँदे सहमतिको प्रस्ताव सार्वजनिक भएको छ । ‘सबैसँगै बढौँ यसरी’ शीर्षक दिइएको उक्त प्रस्ताव जेठ १६ गते नै आन्तरिक रूपमा असन्तुष्ट पक्षलाई पठाइएको भए पनि १६ दिनसम्म कुनै प्रतिक्रिया नआएपछि शनिबार सार्वजनिक गरिएको हो ।

उपसभापति शर्माले आफ्नो प्रस्तावमा विगतका तिक्तता र मतभेदलाई बिर्सेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । प्रस्तावको पहिलो बुँदामै विधानको दफा १७(२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगको अद्यावधिक र सर्वोच्च अदालतको अन्तिम फैसलालाई आत्मसात् गर्दै विवाद अन्त्य गर्नुपर्ने उल्लेख छ ।

यद्यपि, विशेष महाधिवेशनको प्रक्रियाप्रति चित्त नबुझेका नेताहरूले १५औँ महाधिवेशनको बन्दसत्रमा आफ्ना एजेन्डा प्रस्तुत गर्न पाउने र महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैलाई पनि भेदभाव नगरिने प्रतिबद्धता जनाइएको छ ।

प्रस्तावमा सांगठनिक सुधार र नेताहरूको व्यवस्थापनका लागि केही महत्त्वपूर्ण योजनाहरू अघि सारिएका छन् । पार्टीमा लामो समय योगदान पुर्‍याएका अग्रजहरूलाई केन्द्रीय समितिमा ‘वरिष्ठ नेता’ को सम्मानजनक भूमिका दिने र कार्यसम्पादन समितिमा समेत उचित सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ । साथै, अबदेखि केन्द्रीय सदस्यहरू महाधिवेशनमा स्वतः प्रतिनिधि हुन पाउने पुरानो परम्परा अन्त्य गरी सबैले वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्थाको प्रस्ताव पनि शर्माले गरेका छन् ।

महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई समयमै टुङ्ग्याउने र यससम्बन्धी विधानका अस्पष्टतालाई स्पष्ट पार्ने शर्माको योजना छ । यसैगरी, १५औँ महाधिवेशन सम्पन्न गर्न गठन गरिने निर्वाचन, अनुशासन र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सबै पक्षको सम्मानजनक सहभागिता र सहकार्य रहने प्रस्तावमा उल्लेख छ । भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा नेतृत्व लिन इच्छुक नेताहरूलाई उनीहरूको योग्यता र चाहना अनुसार जिम्मेवारी दिइने विषयलाई पनि सातौँ बुँदामा समेटिएको छ ।

विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको संवादहीनता तोड्न र एकताको आधार तयार पार्न यो परिमार्जित प्रस्ताव ल्याइएको हो । उपसभापति शर्माले भिन्न मतहरूलाई सुरक्षित गर्दै अभिन्न भएर अघि बढ्ने कांग्रेसको परम्परालाई पछ्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।


सम्बन्धित समाचार
भर्खरै