३१ जेठ, काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालको यो भ्रमण नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन र आपसी सहकार्यका क्षेत्रहरू विस्तार गर्न केन्द्रित रहनेछ ।
बेइजिङमा रहँदा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, सीमा व्यवस्थापन, व्यापारिक साझेदारी र अघि बढिरहेका विकास परियोजनाका बारेमा विस्तृत छलफल हुने मन्त्रालयले जनाएको छ । साथै, उनले चीन सरकारका अन्य उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरी साझा चासोका विषयमा संवाद गर्नेछन् ।
कूटनीतिक भेटघाट बाहेक मन्त्री खनालले चीनबाट नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने कार्यलाई प्राथमिकता दिएका छन्। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्न लागेको विशेष लगानी सम्मेलनमा उनी सहभागी हुनेछन् । सो अवसरमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा लगानीका सम्भावित क्षेत्र र सरकारी प्राथमिकताका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणको क्रममा नेपाली दूतावासले मन्त्री खनालको सम्मानमा एक स्वागत समारोहको समेत आयोजना गर्नेछ । उक्त समारोहमा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट गरी उनीहरूका समस्या र सुझावका बारेमा छलफल गर्नेछन् । परराष्ट्रमन्त्री खनाल आफ्नो भ्रमण सम्पन्न गरी आगामी असार ३ गते स्वदेश फर्कने कार्यतालिका छ ।
















