Logo

३० जेठ,काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा ले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवादको अभाव भएको भन्दै पाँच जना अग्रज नेताहरूलाई ध्यानाकर्षण पत्र पठाएका छन्।

शनिबार नेता शर्माले शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला लाई सम्बोधन गर्दै आफूले अघि सारेको सातबुँदे लिखित प्रस्तावमाथि छलफल अगाडि बढाउन आग्रह गरेका हुन्।

शर्माले गत जेठ १६ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष सातबुँदे प्रस्ताव पेश गरेका थिए। तर उक्त प्रस्तावमाथि एक सातासम्म पनि कुनै छलफल नभएपछि जेठ २२ गते खड्कालाई भेटेरै आफ्नो धारणा र चासो व्यक्त गरेको उनले बताएका छन्।

उनका अनुसार पार्टीभित्रको समस्या समाधानका लागि निरन्तर पहल भइरहेकै बेला जेठ २४ गते खड्काले सामाजिक सञ्जालमार्फत संवाद नभइरहेको सन्देश जाने खालको अभिव्यक्ति दिएपछि आफू आश्चर्यचकित बनेका थिए।

त्यसपछि जेठ २६ गते उनले प्रस्तावबारे जानकारी गराउन र छलफलको वातावरण बनाउन उद्देश्यले पाँचै जना अग्रज नेतालाई सातबुँदे प्रस्ताव ह्वाट्सएपमार्फत पठाएको उल्लेख गरेका छन्। तर त्यसयता पनि प्रस्तावमाथि कुनै औपचारिक छलफल नभएको तथा कुनै प्रतिक्रिया नआएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

ध्यानाकर्षण पत्रमा शर्माले पार्टीभित्र मतभेद र विवाद उत्पन्न हुँदा त्यसको समाधानका लागि संवाद, भेटघाट र लिखित प्रस्ताव लोकतान्त्रिक अभ्यासको आधार हुने उल्लेख गरेका छन्। उनले शीर्ष नेताहरूलाई आवेगभन्दा माथि उठेर प्रस्तावको अध्ययन गर्न र आवश्यक संशोधन, परिमार्जन तथा सहमति निर्माणका लागि छलफलमा जुट्न आग्रह गरेका छन्।

‘शान्त चित्तले सातबुँदे प्रस्ताव अध्ययन गरेर त्यसमा थप्ने, घटाउने वा परिमार्जन गर्ने विषयमा यहाँहरूबीच चाँडै नै छलफल हुनेछ भन्ने विश्वास लिएको छु,’ पत्रमा शर्माले उल्लेख गरेका छन्।

कांग्रेसको संस्थापन इतर समूहका एक नेताले विश्वप्रकाश शर्माले पठाएको ध्यानाकर्षण पत्र तथा सातबुँदे प्रस्ताव प्राप्त भएको पुष्टि गरेका छन्। यद्यपि प्रस्तावमाथि औपचारिक छलफल कहिले हुने भन्नेबारे कुनै निर्णय भइसकेको छैन।

पार्टीभित्र पछिल्लो समय देखिएको मतभेद र नेतृत्व तहमा संवादको कमीबारे चर्चा भइरहेका बेला शर्माको यो पहललाई आन्तरिक सहमति र संवादको प्रयासका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार