Logo

३० जेठ,काठमाडौं । चोरी मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय सबीर बक्सको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार मोबाइल चोरीको आरोपमा बक्सलाई जेठ २७ गते पक्राउ गरी हिरासतमा राखिएको थियो। उनीमाथि अनुसन्धान जारी रहेकै अवस्थामा शुक्रबार राति हिरासतमा रहँदा स्वास्थ्यमा समस्या देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार बिहान करिब ४ः३० बजे बक्सलाई उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ लगिएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बक्सलाई चोरी मुद्दामा पक्राउ गरी बुधबार मात्रै म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक चिकित्सक ल्याउने प्रक्रिया भइरहेको र पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै मृत्युको वास्तविक कारणबारे जानकारी हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार