३० जेठ,कपिलवस्तु । सशस्त्र प्रहरीले भारतबाट तस्करी गरी नेपाल भित्र्याइँदै गरेको यौनवर्धक औषधि ठूलो परिमाणमा बरामद गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवनगर क्षेत्रबाट ३३० थान ‘युरिफिल इफेक्ट’ नामक औषधि बरामद गरिएको हो। बरामद औषधिको बजार मूल्य करिब २४ लाख ७५ हजार रुपैयाँ बराबर रहेको जनाइएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) यज्ञमान साउदको कमाण्डमा खटिएको टोलीले उक्त औषधि बरामद गरेको हो।
बरामद गरिएको औषधि आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर–२८ हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिए।
स्वास्थ्यकर्मीका अनुसार उक्त औषधि यौन उत्तेजना बढाउने प्रयोजनका लागि प्रयोग हुने गर्छ। नेपालमा औषधि तथा सर्जिकल सामग्रीमा कर बढेपछि सीमा क्षेत्रमा चोरी–तस्करी र अवैध ओसारपसारका घटना बढ्दै गएको देखिएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित गस्ती तथा कडाइ बढाइएको र सम्भावित तस्करी नियन्त्रणका लागि निगरानी थप कडा पारिएको जनाएको छ।
















