१ असार,काठमाडौं । श्रम संस्कृति पार्टीले सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन पुनः माग गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै पार्टी अध्यक्ष हर्क साम्पाङले उक्त विषयमा सभामुखको ध्यानाकर्षण गराएका हुन्। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन आफूहरूको माग यथावत रहेको बताएका छन्।
‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं,’ साम्पाङले संसद्मा भने।
प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा नेपाल–भारत सीमा विवादको प्रसङ्ग उल्लेख गर्दै नेपालले समेत भारतको केही भूभाग मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले राष्ट्रिय हित र सीमा सम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यपरक नभएको तथा त्यसले नेपालको आधिकारिक धारणामाथि प्रश्न उठाएको बताएका छन्।
यस विषयमा संसद्भित्र र बाहिर बहस जारी रहँदा श्रम संस्कृति पार्टीले उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुखले आवश्यक निर्णय गर्नुपर्ने माग दोहोर्याएको छ।
















