१ असार, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तहहरूलाई शिक्षक सरुवाका सम्बन्धमा कडा निर्देशन जारी गरेको छ ।
शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षक व्यवस्थापन समन्वय महाशाखाले सोमबार एक परिपत्र जारी गर्दै सरुवा प्रक्रियालाई थप व्यवस्थित र मर्यादित बनाउन तीनबुँदे निर्देशन दिएको हो ।
नयाँ निर्देशनअनुसार, शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएको दरबन्दीमा अबदेखि जिल्लान्तर वा अन्तर(स्थानीय तह सरुवा गरी पदपूर्ति गर्न पाइने छैन । आयोगमा पठाइसकिएको रिक्त पदको औचित्य कायम राख्न महाशाखाले यस्तो व्यवस्था गरेको हो ।
त्यस्तै, महाशाखाले खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा भने सोही दरबन्दीभित्र रहेका शिक्षकहरूको मात्रै सरुवा गर्न स्पष्ट पारेको छ। यसबाट दरबन्दी मिलानको प्रक्रिया थप पारदर्शी हुने अपेक्षा गरिएको छ।
यसैगरी, कार्यसम्पादन मूल्याङ्कन (७५ प्रतिशत) का आधारमा बढुवाका लागि निवेदन दिएका सम्भाव्य उम्मेदवारहरूको हकमा समेत विशेष सावधानी अपनाउन भनिएको छ ।
बढुवाको अन्तिम नतिजा सार्वजनिक नभएसम्म यस्ता शिक्षकहरूलाई सरुवा सहमति नदिन स्थानीय तहहरूलाई महाशाखाले कडा निर्देशन दिएको छ । यो निर्णयले शिक्षक व्यवस्थापन र बढुवा प्रक्रियामा देखिएको अन्योललाई चिर्ने शिक्षा प्रशासनको विश्वास छ ।















