Logo

१ असार, काठमाडौं । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सभामा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालु आर्थिक वर्षको तुलनामा करिब १३ प्रतिशतले आकार घटाएर नयाँ बजेट ल्याएका हुन् । मधेस प्रदेशले चालु आर्थिक वर्ष २०८२/८३ मा ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

कुल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ६६ करोड अर्थात् ३५ दशमलव ९४ प्रतिशत र पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड अर्थात् ६४ दशमलव ३६ प्रतिशत रकम छुट्याइएको छ । सरकारले प्राथमिकताका साथ पुँजीगत खर्चमा जोड दिँदै विकास निर्माणका कार्यहरूलाई तीव्रता दिने नीति लिएको छ ।

बजेटको स्रोत व्यवस्थापनका लागि प्रदेश सरकारले आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड र वित्तीय समानीकरणबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । बाँकी रकम गत वर्षको नगद मौज्दातबाट जुटाइने अर्थमन्त्री भट्टराईले जानकारी दिएका छन् ।

सङ्कुचित बजेटका बीचमा पनि प्रदेशको प्राथमिकता र आवश्यकतालाई सन्तुलित गर्ने प्रयास गरिएको सरकारले जनाएको छ ।


सम्बन्धित समाचार