Logo

१ असार, काठमाडौं । नेपालमा डिजिटल पहुँचले नयाँ उचाइ हासिल गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन (वैशाख २०८३) अनुसार मुलुकमा कुल ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ४ करोड ५२ लाख नाघेको छ । जनसंख्याको तुलनामा ब्रोडब्यान्डको पहुँच १५५ प्रतिशतभन्दा माथि पुग्नुले नेपालमा सूचना तथा सञ्चार प्रविधिको विस्तार द्रुत गतिमा भइरहेको पुष्टि हुन्छ । भ्वाइस टेलिफोनी सेवातर्फ भने सक्रिय ग्राहकको संख्या ३ करोड २ लाखभन्दा बढी छ, जुन कुल जनसंख्याको १०३.७१ प्रतिशत हो ।

दूरसञ्चार बजारमा भ्वाइस सेवातर्फ सरकारी स्वामित्वको नेपाल टेलिकमको दबदबा कायम छ । ५३.५८ प्रतिशत बजार हिस्सा ओगटेको टेलिकमका १ करोड ६२ लाखभन्दा बढी ग्राहक छन् भने ४६.४१ प्रतिशत हिस्सासहित एनसेल दोस्रो स्थानमा छ ।

इन्टरनेटतर्फ भने मोबाइल ब्रोडब्यान्डको पकड बलियो देखिएको छ। कुल इन्टरनेट प्रयोगकर्तामध्ये ८८.७४ प्रतिशत मोबाइल ब्रोडब्यान्डका ग्राहक छन्, जसमा ४जी प्रविधि पहिलो रोजाइ बनेको छ । नेपाल टेलिकम र एनसेल दुवैले मोबाइल ब्रोडब्यान्ड बजारलाई करिब बराबरको हाराहारीमा बाँडेका छन् ।

फिक्स्ड ब्रोडब्यान्ड (फाइबर इन्टरनेट) को क्षेत्रमा भने तीव्र प्रतिस्पर्धा देखिएको छ । फाइबर सेवा विस्तारमा वर्ल्डलिङ्क कम्युनिकेशन्स १० लाख ७८ हजारभन्दा बढी ग्राहकसहित ३०.९३ प्रतिशत बजार हिस्साका साथ शीर्ष स्थानमा कायमै छ ।

दोस्रो स्थानका लागि भने नेपाल टेलिकम (१०.९८ प्रतिशत) र डिश मिडिया नेटवर्क (डिश होम ( १०.५९ प्रतिशत) बीच कडा प्रतिस्पर्धा चलेको छ । त्यसैगरी, भायानेट, क्लासिक टेक र सुबिसुले पनि बजारमा आफ्नो पकड बलियो बनाएका छन् । उच्च गतिको फाइबरको बढ्दो प्रयोगले नेपालको इन्टरनेट बजारलाई थप प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै लगेको छ ।


सम्बन्धित समाचार