१ असार,वीरगञ्ज । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पर्सा क्षेत्र नं. १ का लागि पूर्वाधार, खेलकुद तथा सहरी विकासका महत्वपूर्ण योजनाहरू समेटिएका छन्। संघीय सरकारको ‘रातो किताब’ मा उक्त क्षेत्रमा विभिन्न विकास आयोजनाका लागि करोडौँ रुपैयाँ विनियोजन गरिएको छ।
क्षेत्र नं. १ का सांसद हरि पन्तका अनुसार विगतका संसदीय प्राथमिकता र विकास कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि प्रमुख आयोजना समेटिएका छन्। उनले योजनाहरू समावेश भएसँगै क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
बजेट अनुसार नारायणी रंगशालाको क्रिकेट मैदान स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, फुटबल मैदानमा फ्लडलाइट जडान तथा स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ।
इन्डोर खेलकुद प्रवर्द्धनका लागि नारायणी बहुउद्देश्यीय कभर्डहलको थप स्तरोन्नतिमा ६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सहरी विकासअन्तर्गत वीरगञ्ज महानगरपालिकाभित्रका सडकहरूको स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रमका लागि ९ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। यसअन्तर्गत महानगरका १७ वटा प्रमुख सडक खण्डहरूको निर्माण तथा सुधार गरिनेछ, जसमा आदर्शनगर विद्यालयदेखि प्रतिमा चोक हुँदै इमर्जसम्मको सडक पनि समावेश छ।
त्यसैगरी जनता सडक आवधिक मर्मत कार्यक्रमअन्तर्गत जितपुर–दौडा, प्रसौनी स्कूल–मनियारी, पचनाचौँ–ताजपुर र पटेलनगर–परवानीपुर सडक सञ्जालका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ।
औद्योगिक तथा व्यापारिक आवागमन सहज बनाउन हरपतगञ्जदेखि ड्राईपोर्ट जोड्ने ६ लेन सडक निर्माणका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ।
यस्तै, वीरगञ्ज महानगरपालिका वडा नं. ३२ स्थित ज्योति फर्मदेखि चोेरी पुग्ने सडक खण्डमा पर्ने सिसिवा खोलामा पुल निर्माण तथा सडक सुरक्षा कार्यक्रमका लागि २१ करोड ११ लाख ४६ हजार रुपैयाँको ठूलो आयोजना समावेश गरिएको छ।
यान्त्रिक व्यवस्थापन डिभिजन पर्साका लागि १ करोड २१ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आवास भुक्तानी तथा सघन सहरी विकास योजनाहरूका लागि समेत बजेट सुनिश्चित गरिएको छ।
संघीय कार्यालय भवन मर्मत सुधारका लागि ३५ लाख ७६ हजार रुपैयाँ छुट्याइएको छ। साथै कृषि क्षेत्रको आधुनिकीकरण तथा किसान लक्षित कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र पर्सालाई पनि विशेष प्राथमिकता दिइएको छ।














