Logo

१ असार, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको अराजक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन कडा सुझाव दिएका छन् ।

हालै पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सडक अनुगमनका क्रममा ठेकेदारप्रति लक्षित गर्दै ‘काम नगर्नेको खुट्टा भाँचिदिनू’ भनी दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा तरङ्ग ल्याएपछि शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

भिडियो सन्देशमार्फत प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै उपसभापति शर्माले मन्त्रीस्तरका व्यक्तिबाट आउने यस्ता हिंसात्मक र गैरजिम्मेवार भनाइले समाजलाई कता लैजाँदै छ भन्ने प्रश्न उठाएका छन् । ‘हामी कस्तो समाज निर्माणतर्फ जाँदै छौँ? यदि भद्र र सभ्य समाजको अपेक्षा छ भने प्रधानमन्त्रीज्यू, आफ्ना मन्त्रीहरूको बोलीमा तत्काल लगाम लगाउनुहोस्,’ शर्माले भने ।

यस क्रममा उनले वर्तमान प्रधानमन्त्री शाहको विगतको चुनावी अभियानलाई पनि स्मरण गराएका छन् । चुनावका बेला प्रधानमन्त्री स्वयंले दिएको विवादित अभिव्यक्तिको प्रसंग कोट्याउँदै उनले मन्त्रीहरूलाई संयमित बनाउन नसके त्यसले समग्र सरकारकै गरिमा र मर्यादामा आँच पुग्ने चेतावनी दिएका छन् । सार्वजनिक पदमा बसेका व्यक्तिले प्रयोग गर्ने भाषा र शैलीप्रति जिम्मेवार हुनुपर्ने उनको जोड छ ।


सम्बन्धित समाचार