१ असार, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दबाब देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.२६ अंकले घटेर २ हजार ७११.७६ विन्दुमा खुम्चिएको छ । बजारमा देखिएको यो गिरावटसँगै लगानीकर्ताहरू केही सतर्क देखिएका छन् । आज नेप्सेमा ३५० कम्पनीका १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीहरूमध्ये अधिकांशमा नकारात्मक प्रभाव देखिएको छ । बजारमा १८८ कम्पनीको सेयर मूल्य घट्दा ७३ कम्पनीको मात्र मूल्य बढ्न सकेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । आजको बजारमा विशेषगरी फाइनान्स, अन्य र ट्रेडिङ समूहमा एक प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
उतारचढावपूर्ण बजारका बाबजुद केही कम्पनीका लगानीकर्ताले भने राम्रो मुनाफा कमाएका छन् । सोपान फर्मास्युटिकल्स र अपोलफ हाइड्रोपावरको सेयर मूल्यमा १४।९९ प्रतिशतको उच्च वृद्धि देखिएको छ ।
यस्तै, कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत कम्पनी ३८ करोड ८५ लाख रुपैयाँसहित शीर्ष स्थानमा छ भने नेपाल बैंक डिबेन्चर २०८५ र लक्ष्मी सनराइज बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । समूहगत रूपमा सबै सूचकहरू रातो देखिएकाले आज समग्र बजारमा बिक्रेता हाबी भएको प्रस्ट हुन्छ ।














