१ असार,वीरगञ्ज । पर्साका चौहान समुदायले आफूहरूलाई अल्पसंख्यक समुदायको रूपमा सरकारी अभिलेखमा सूचीकृत गर्न माग गरेका छन्। यस सम्बन्धमा चौहान समुदायका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत सम्बन्धित निकायमा पहल र सिफारिस गरिदिन आग्रह गर्दै निवेदन बुझाएका छन्।
निवेदनमा पर्सासहित मधेश प्रदेशका विभिन्न पालिकामा करिब पाँच हजार जनसंख्या रहेको चौहान समुदाय लामो समयदेखि बसोबास गर्दै आएको उल्लेख गरिएको छ। तर, सरकारी अभिलेख, जनगणना, नागरिकता तथा अन्य आधिकारिक कागजातहरूमा चौहान जातिको स्पष्ट पहिचान नभएका कारण समुदायले संविधानले प्रदान गरेका विभिन्न अधिकार र राज्यबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरिएको छ।
चौहान समुदायका अनुसार राष्ट्रिय समावेशी आयोगद्वारा गरिएको जातीय सूचीकृत प्रक्रियामा चौहान जातिलाई अन्य जातिको सूचीमा समावेश गरिएको छ। यसले समुदायको वास्तविक पहिचान ओझेलमा परेको भन्दै उक्त वर्गीकरण सच्याउन माग गरिएको छ।
निवेदनमा ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८’ मा चौहान थरको उल्लेख भए पनि सरकारी अभिलेख तथा तथ्याङ्क प्रणालीमा अन्य श्रेणीमा राखिएको भन्दै त्यसलाई संशोधन गरी अल्पसंख्यक समुदायको रूपमा सूचीकृत गर्नुपर्ने माग गरिएको छ।
नेपाल चौहान कल्याण समाज पर्साका संयोजक चन्देश कुमार चौहान तथा कार्यवाहक अध्यक्ष अवध बिहारी प्रसाद चौहानद्वारा हस्ताक्षरित निवेदनमा चौहान समुदायको पहिचान, प्रतिनिधित्व, अधिकार संरक्षण तथा सशक्तीकरणका लागि आवश्यक नीति निर्माण र कानुनी व्यवस्था गर्न समेत सरकारसमक्ष आग्रह गरिएको छ।
उक्त निवेदनको बोधार्थ राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, राष्ट्रिय तथ्याङ्क विभाग तथा मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको छ।
चौहान समुदायले संविधान र प्रचलित कानुनले सुनिश्चित गरेका हक, अधिकार तथा राज्यका सेवासुविधामा समान पहुँच सुनिश्चित गर्न समुदायको छुट्टै जातीय पहिचान कायम गरिनुपर्ने माग गरेको छ।
















