Logo

३ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत बुधबार सम्पन्न समूह ‘जे’ को खेलमा पहिलोपटक विश्वकपको स्वाद चाखिरहेको जोर्डनलाई अष्ट्रियाले ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा आयोजित उक्त प्रतिस्पर्धात्मक खेलको २०औं मिनेटमा रोमानो स्चमिडले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५०औं मिनेटमा जोर्डनका अली ओल्वानले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए पनि त्यसपछिको समय अष्ट्रियाको पक्षमा रह्यो ।

खेलको ७६औं मिनेटमा जोर्डनका याजान अलारबले गरेको दुर्भाग्यपूर्ण आत्मघाती गोलले अष्ट्रियालाई पुनः अग्रता दिलायो भने इन्जुरी समयमा मार्को अर्नाटोभिकले पेनाल्टीमार्फत गोल गर्दै जित सुनिश्चित गरे । सन् १९९८ पछि २८ वर्षको अन्तरालमा विश्वकपमा फर्किएको अष्ट्रियाले यस जितसँगै समूहमा महत्त्वपूर्ण ३ अंक जोडेको छ ।

यद्यपि, जोर्डन पराजित भए तापनि पहिलो पटक विश्वकपको मञ्चमा देखाएको संघर्षपूर्ण प्रदर्शनले फुटबल प्रेमीहरूको ध्यान तान्न सफल भएको छ । यस समूहमा समान ३ अंक रहे पनि गोलअन्तरका आधारमा अर्जेन्टिना शीर्ष स्थानमा छ भने अष्ट्रिया दोस्रो स्थानमा उक्लिएको छ ।


सम्बन्धित समाचार
भर्खरै