३ असार, काठमाडौँ । एक युवतीलाई जङ्गलमा लगेर खुकुरी देखाउँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने दाङका एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जङ्गल क्षेत्रमा लगी खुकुरी देखाएर डर–धम्की दिँदै कुटपिट गरेका थिए। सोही घटनाको भिडियो उनले मंगलबार बेलुका ८ः३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको हो ।
खुकुरी प्रहार गर्दै युवतीमाथि बर्बरतापूर्ण कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएलगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली अनुसन्धानमा जुटेको थियो। प्रहरीले भिडियो पोस्ट भएको दुई घण्टाभित्रै अर्थात् मंगलबार राति १०ः४० बजे मगरलाई उनकै घरबाट नियन्त्रणमा लिन सफल भयो।
पक्राउ परेका मगरको घरमा खानतलासी गर्दा प्रहरीले विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध (फार्मास्युटिकल ड्रग्स) समेत बरामद गरेको छ। उनको साथबाट प्रेगाम्याक्स (Pregamax) १ ट्याब्लेट, ट्रोहमो (Trohmo) ४१ ट्याब्लेट, एन्टिकोप (Antikop) २ ट्याब्लेट र नाइट्राजोम (Nitrazohm) ५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, उक्त घटना र लागुऔषध कारोबारमा संलग्नताको शङ्कामा प्रहरीले तुलसीपुर–२ बालापुर बस्ने २१ वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर युवतीमाथिको ज्यादती र लागुऔषध मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
















