Logo

३ असार, चितवन । पर्यटनलाई स्थानीय आयआर्जन र रोजगारीसँग जोड्ने उद्देश्यका साथ माडीमा होमस्टे सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। चितवनको माडी नगरपालिका–८ शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा सञ्चालन भएको पाँचदिने तालिमले होमस्टे व्यवसायलाई थप व्यवस्थित, आकर्षक र पर्यटकमैत्री बनाउने अपेक्षा गरिएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा तथा होमस्टे महासंघ नेपाल बागमती प्रदेश समितिको सहकार्यमा सुरु भएको तालिममा बागमती प्रदेशका ८ जिल्लाबाट आएका ३० जना होमस्टे सञ्चालक सहभागी छन्। असार २ गतेदेखि सुरु भएको तालिम असार ६ गतेसम्म सञ्चालन हुनेछ ।

तालिम उद्घाटन कार्यक्रममा माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतोले माडीको पर्यटन विकासमा होमस्टे महत्वपूर्ण आधार बन्न सक्ने बताइन् । प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, सांस्कृतिक विविधता र वन्यजन्तु पर्यटनको प्रचुर सम्भावना बोकेको माडीमा पर्यटकलाई स्थानीय जीवनशैलीसँग प्रत्यक्ष जोड्ने सबैभन्दा प्रभावकारी माध्यम होमस्टे नै भएको उनको भनाइ थियो ।

उनले होमस्टे सञ्चालकहरूको सेवा, व्यवस्थापन र आतिथ्यता क्षमता बलियो बनाउन सके पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीय स्तरमा रोजगारी र आम्दानीका अवसर विस्तार हुने उल्लेख गरिन् । “माडीको आर्थिक समृद्धिको एउटा बलियो आधार पर्यटन हो, र पर्यटनको आत्मा भनेको होमस्टे हो,” उनले भनिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले पर्यटन क्षेत्रको प्रतिस्पर्धात्मक विकासका लागि गुणस्तरीय सेवा अपरिहार्य रहेको बताए। तालिमले सहभागीहरूलाई व्यावसायिक व्यवस्थापन, अतिथि सत्कार, सरसफाइ तथा पर्यटन सेवासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले सिकेका सीपलाई दैनिक व्यवसायमा प्रयोग गर्न आग्रह गरे ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र परिषद्का अध्यक्ष शिवजी गायकले माडी क्षेत्र पर्यटनको दृष्टिले अत्यन्त सम्भावनायुक्त गन्तव्य भएको उल्लेख गरे। निकुञ्ज, मध्यवर्ती क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यलाई अझ सुदृढ गर्दै पर्यावरण संरक्षण र पर्यटन विकासलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

होमस्टे महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष विनोद हुमागाईले बदलिँदो पर्यटकको रुचि र अपेक्षाअनुसार सेवा सुधार गर्न सञ्चालकहरूलाई समयअनुकूल दक्ष बनाउन यस्ता तालिम आवश्यक रहेको बताए। उनका अनुसार तालिमले होमस्टे व्यवस्थापन, आतिथ्यता सेवा र व्यवसायिक क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा होमस्टे व्यवस्थापन, पर्यटक स्वागत र आतिथ्यता, सरसफाइ तथा स्वच्छता, स्थानीय खानाका परिकारको प्रवर्द्धन, पर्यटन सेवा, व्यवसायिक योजना निर्माण तथा पर्यटकमैत्री वातावरण विकासजस्ता विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

माडीको पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले सहभागीहरूलाई नयाँ सीप र अनुभव मात्र नभई विभिन्न जिल्लाका होमस्टे सञ्चालकबीच अनुभव आदानप्रदान तथा व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।

पर्यटन क्षेत्रलाई समुदायको आर्थिक सशक्तीकरणसँग जोड्ने प्रयासस्वरूप सुरु गरिएको यो तालिमले माडीसहित बागमती प्रदेशका विभिन्न जिल्लामा सञ्चालित होमस्टेहरूको सेवा स्तर सुधार्न र ग्रामीण पर्यटनलाई थप गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै