२ असार, वीरगञ्ज । पर्सा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा एक बोलेरो पिकअपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार दिउँसो करिब ३ बजे वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा १९ च ५७३८ नम्बरको बोलेरो पिकअप रोकी जाँच गरेको थियो।
खानतलासीका क्रममा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकले बेरिएका ८ वटा पोका फेला परेको प्रहरीले जनाएको छ। ती पोकाभित्र रहेको पदार्थ जाँच गर्दा करिब १०९ किलोग्राम गाँजाजस्तो देखिने लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ।
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ निवासी ३० वर्षीय सुभाष थामी र २८ वर्षीय छत्रबहादुर थामीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका सुभाष थामी बोलेरोका चालक रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा, प्रयोग भएको सवारी साधन तथा पक्राउ परेका दुवै व्यक्तिलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
पर्सा प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्र तथा मुख्य राजमार्गहरूमा निगरानी बढाएको जनाएको छ। प्रहरीले लागूऔषध कारोबार तथा तस्करीमा संलग्न व्यक्तिविरुद्ध कडा कारबाही जारी रहने पनि जनाएको छ।
















