Logo

चितवन । माडी नगरपालिका र माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा “हिँडौं प्रकृतिसँग, जोडिऔं पर्यटनसँग” भन्ने नारासहित असार ३ गते माडी–८ स्थित बैकुण्ठ तालदेखि धनलक्ष्मी झरनासम्म पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ।

आयोजकका अनुसार बिहान ५ बजे सुरु हुने पदयात्राको मुख्य उद्देश्य माडीको प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्भावनाको प्रवर्द्धन गर्नुका साथै हाल चर्चामा रहेको बैकुण्ठधाम क्षेत्रको महत्वलाई थप उजागर गर्नु रहेको छ।

रेस खबरमा धनलक्ष्मी झरना क्षेत्र आसपास सम्भावित पुरातात्विक संरचनाबारे समाचार प्रकाशित भएपछि थप चासो र जिज्ञासा बढेको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताउनुभएको छ। उहाँका अनुसार धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा प्राकृतिक सम्पदाहरूको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व संगै त्यसको प्रचारप्रसार र अध्ययन–अनुसन्धानलाई अघि बढाउनु पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो।

उहाँले सोही सन्दर्भमा उक्त क्षेत्रको अवलोकन, दर्शन तथा प्रचारप्रसार र थप अनुसन्धानलाई सहज बनाउन पदयात्रा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
गत जेठ ३० गते बैकुण्ठधाम क्षेत्र विकास समितिको अगुवाइमा गरिएको सरसफाइ तथा अवलोकनका क्रममा धनलक्ष्मी झरना क्षेत्र आसपास ढुङ्गाका खम्बा र चक्राकार शिलाचिन्हहरू फेला परेका थिए। उक्त टोलीमा रेस खबरका संवाददाता रेशम सापकोटा समेत सहभागी हुनुहुन्थ्यो। त्यस सम्बन्धमा रेस खबरले जेठ ३१ गते समाचार प्रकाशन गरेपछि क्षेत्रको सम्भावित ऐतिहासिक तथा पुरातात्विक महत्वबारे चासो थप बढेको थियो।

नगरपालिकाले प्राप्त सूचनालाई आधार मानी उक्त क्षेत्रको अवलोकन, सम्भावित अनुसन्धानको आवश्यकता पहिचान तथा पर्यटन प्रवर्द्धनलाई सँगसँगै अगाडि बढाउने उद्देश्यले पदयात्रा कार्यक्रम आयोजना गरेको जनाएको छ।

करिब दुई घण्टा लामो पदयात्रामा स्थानीयवासी, पर्यटनकर्मी, पत्रकार, युवा तथा पर्यटनप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले माडीको प्राकृतिक सम्पदा, धार्मिक आस्था र सम्भावित ऐतिहासिक धरोहरलाई नजिकबाट चिन्ने अवसरका रूपमा कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै