Logo

 २ असार,काठमाडौं ।  प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीचको समन्वय अभावका कारण मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका विद्युतीय सवारी साधन फुकुवा गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका अनुसार आइतबार साँझदेखि ती सवारी साधन सम्बन्धित पक्षलाई जिम्मा लगाएर छोडिएको हो। कोरला नाका र अन्य स्थानमा नियन्त्रणमा राखिएका गाडीहरू आवश्यक प्रक्रिया पूरा भएपछि गन्तव्यतर्फ पठाउन थालिएको प्रहरीले जनाएको छ।

गत जेठको दोस्रो र तेस्रो हप्तामा कोरला नाका हुँदै कुल ७७५ विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ सवारी साधन मुस्ताङ भन्सार कार्यालय, नेचुङबाट जाँचपास भइसकेका थिए।

तर पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरीले ती सवारी साधन नियन्त्रणमा लिएको थियो। पछि अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखा प्रमुख निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिले कास्की, पर्वत र मुस्ताङका विभिन्न स्थानमा स्थलगत अनुगमन गरी गरेको अध्ययनपछि कुनै पनि कैफियत नभएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।

त्यसपछि नियन्त्रणमा रहेका सवारी साधन फुकुवा गरिएको हो। सशस्त्र प्रहरीका अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये हालसम्म २२३ वटा गन्तव्यतर्फ पठाइसकिएको छ भने बाँकी ४३ वटा पठाउने प्रक्रिया जारी छ।

यसअघि कास्कीको हेमजामा ९८ र पर्वतको कुश्मामा १७ सवारी साधन पनि नियन्त्रणमा लिइएका थिए। सबै सवारी साधन आवश्यक भन्सार प्रक्रिया पूरा गरेर क्रमशः गन्तव्यतर्फ पठाइने जनाइएको छ।


सम्बन्धित समाचार