Logo

 २ असार,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति अविलम्ब सच्याउन माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले उक्त अभिव्यक्तिप्रति आफ्नो असहमति जनाउँदै सभामुखले त्यसलाई संसद्को अभिलेखबाट हटाउन आदेश दिनुपर्ने बताएका हुन्।

उनले आफ्नो आन्दोलन निरन्तर जारी रहेको उल्लेख गर्दै नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि संसद् र सभामुखले स्पष्ट भूमिका खेल्नुपर्ने बताए।

‘हाम्रो आन्दोलन सधैँ नै छ। हामी आशा गरिरहेका छौँ, त्यो अभिव्यक्तिलाई रेकर्डबाट हटाउने आदेश दिनुहुनेछ। हाम्रो भौगोलिक अखण्डताको रक्षार्थ तपाईँ उभिनुहुनेछ भन्ने विश्वास लिएका छौँ,’ साम्पाङले भने।

त्यसैगरी उनले महिनौँदेखि काठमाडौंको माइतीघर मण्डलामा अनशनमा बसेकाहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे।

गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै उनले माइतीघरमा आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्ने बताए।

‘हाम्रो गृहमन्त्रीज्यू अत्यन्तै क्विक एक्सन पनि लिनुहुन्छ। उहाँ आफैँ फिल्ड भिजिटमा जानुभएको थियो। माइतीघरमा बसिरहेकाहरूको माग सम्बोधन गरियोस्,’ उनले भने।


सम्बन्धित समाचार