३ असार, जीतपुरसिमरा (बारा) । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५, बकुलियास्थित भवानीपुर जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले स्थानीय बासिन्दाहरूका लागि नयाँ खानेपानी धारा जडान प्रक्रिया अघि बढाएको छ ।
संस्थाले उपभोक्ताहरूको घरदैलोमा स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ धारा जडानका लागि आवेदन फारम वितरण खुल्ला गरेको हो ।
संस्थाका अध्यक्ष हरेराम कामीका अनुसार असार १ गते बसेको कार्यसमिति बैठकको निर्णय बमोजिम नयाँ धारा वितरणका लागि औपचारिक रूपमा फारम खुला गरिएको हो । बकुलिया तथा आसपासका क्षेत्रमा खानेपानीको पहुँच थप विस्तार गर्न यो कदम चालिएको संस्थाले जनाएको छ ।
संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो घरमा नयाँ खानेपानीको धारा जडान गर्न इच्छुक रहेका स्थानीय उपभोक्ताहरूलाई यथाशीघ्र संस्थाको कार्यालयमा सम्पर्क राखी फारम लिन तथा प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।
२०८० सालमा स्थापना भएको यस उपभोक्ता संस्थाले स्थानीय स्तरमा खानेपानीको व्यवस्थापन र सरसफाइ सम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।
















