Logo

३ असार, काठमाडौँ । देशभरका भूमि प्रशासन (मालपोत) कार्यालयहरूले गत जेठ महिनामा कुल रु ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबरको राजस्व सङ्कलन गरेका छन् । घरजग्गा कारोबारमा अघिल्ला महिनाहरूको तुलनामा जेठ महिनाको राजस्व सङ्कलनमा केही गिरावट आएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार देशभर सञ्चालित १३८ वटा भूमि प्रशासन कार्यालयहरूले विभिन्न शीर्षकमा उक्त राजस्व उठाएका हुन् । सङ्कलित रकममध्ये सबैभन्दा बढी हिस्सा रजिष्ट्रेसन दस्तुरको रहेको छ ।

विभागका अनुसार रजिष्ट्रेसन दस्तुरबाट रु २ अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६ र पुँजीगत लाभकरबापत रु २ अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ सरकारी खातामा दाखिला भएको छ । यसैगरी, भूमि प्रशासन कार्यालयहरूले प्रदान गरेको विविध सेवाकरबापत रु २८ करोड ६६ लाख ३२ हजार ५६० सङ्कलन भएको छ ।

उपत्यकाभित्रका कार्यालयहरूमध्ये डिल्लीबजारले सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ । डिल्लीबजार कार्यालयले रु ३४ करोड ४४ हजार राजस्व उठाउँदा चाबहिल कार्यालयले रु ३१ करोड ४२ लाख १९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । यसैगरी, टोखा भूमि प्रशासन कार्यालयको खातामा रु १० करोड ९९ लाख २३ हजार राजस्व जम्मा भएको विभागले जनाएको छ।

गत जेठ महिनाको राजस्व सङ्कलनलाई हेर्दा यो वैशाख र चैत महिनाको तुलनामा कम तर फागुन र माघको तुलनामा बढी हो । विभागका अनुसार यसअघि गत वैशाख महिनामा देशभरका भूमि प्रशासन कार्यालयहरूले कुल रु ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ राजस्व सङ्कलन गरेका थिए ।

त्यस्तै, गत चैत महिनामा रु ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व उठेको थियो । यसैगरी, गत फागुनमा रु ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ र गत माघ महिनामा भने रु ५ अर्ब ९९ लाख २४ हजार ५३६ बराबरको राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । वैशाखको तुलनामा जेठमा करिब १ अर्ब रुपैयाँले राजस्व घट्नुले घरजग्गा क्षेत्रको कारोबारमा केही सुस्तता आएको सङ्केत गर्दछ ।


सम्बन्धित समाचार
भर्खरै