Logo

३ असार, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विवादित अभिव्यक्ति र सभामुख डोलप्रसाद अर्यालको तटस्थतामाथि प्रश्न उठाउँदै सदन अवरुद्ध पारेका छन् ।

गत जेठ १७ गते प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवादका सन्दर्भमा दिएको ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी सांसदहरूले उक्त भनाइ सच्याउनुपर्ने र सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गरेका हुन् ।

बैठक सुरु हुनासाथ आसनबाट उभिएर विरोध जनाएका विपक्षी सांसदहरूले सभामुख अर्यालले आफ्नो पूर्वपार्टी (रास्वपा) सँगको सामीप्यतालाई अझै पनि कायमै राखेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले त सभामुखको कुर्सीको गरिमा र तटस्थतामाथि नै गम्भीर प्रश्न उठाउँदै सभामुखले ‘पूर्वपार्टीसँगको नाभी काट्न नसकेको’ भनी कडा टिप्पणी गरेका छन् ।

सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन र सभामुखबाट रुलिङ गर्न माग दोहोर्‍याएका छन् ।

सरकार र सभामुख दुवैको भूमिकालाई लिएर विपक्षीले देखाएको यो आक्रामक शैलीले संसद्मा पुनः एकपटक राजनीतिक तिक्तता र गतिरोधको अवस्था सिर्जना गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै