६ जेठ, काठमाडौं । कुवेतका विभिन्न जेलमा नारकीय जीवन बिताउन बाध्य नेपाली महिलाहरूको अवस्थालाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक तथा सांसद खुश्बु ओलीले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीको प्रलोभनमा परेर कुवेत पुगेका नेपाली चेलीहरूले भोग्नुपरेको अमानवीय पीडा र त्यहाँका जेलमा रहेका सयौँ नेपाली महिलाहरूको कारुणिक अवस्थाबारे सदनलाई अवगत गराइन् ।
हालै आफू र नेपाली राजदूतावासको निरन्तर पहलमा शर्मिला दर्जीको सकुशल उद्धार गरी स्वदेश फर्काउन सफल भएको प्रसंग कोट्याउँदै उनले, सोही क्रममा जेलमा अन्य कैयौँ नेपाली महिलाहरूले मानसिक सन्तुलन गुमाइसकेको र अत्यन्त दयनीय अवस्थामा रहेको जानकारी दिइन् ।
विशेष गरी अवैध बाटो भएर कुवेत पुगेका झण्डै ६५ हजार नेपाली महिलाहरू उच्च जोखिममा रहेको तथ्यांक प्रस्तुत गर्दै उनले ती अलपत्र परेका चेलीहरूको तत्काल उद्धार गर्न र सुरक्षित रूपमा स्वदेश फर्काउने वातावरण सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरिन् ।
सांसद ओलीले तीन पटकसम्म सदनमा आवाज उठाउँदा बल्ल एक जनाको उद्धार हुन सकेको भन्दै यस्तो गम्भीर मानवीय संकटमा सरकारको भूमिका थप सक्रिय हुनुपर्नेमा जोड दिएकी छिन् ।
















