३ असार,वीरगञ्ज । सडक अनुशासनको पालना गराउने तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्लामा बुधबारदेखि ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु गरिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा को संयुक्त आयोजनामा सुरु गरिएको सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ वीरगन्जको घण्टाघर चोकबाट गरिएको हो।
कार्यक्रमको उद्घाटन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा ले गरेका थिए। उद्घाटनपछि घण्टाघरबाट सुरु भएको जनचेतनामूलक र्याली लिंक रोड, बसपार्क र भानुचोक हुँदै पुनः घण्टाघर पुगेर सम्पन्न भएको थियो।
र्यालीमा सहभागीहरूले ट्राफिक नियमको पालना, सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए। कार्यक्रममा नेपाल स्काउट का सदस्यहरू तथा वीरगन्जका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल ले सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताए। उनले चालक, यात्रु, पैदलयात्री तथा सम्पूर्ण नागरिकको साझा जिम्मेवारी र ट्राफिक नियमको पूर्ण पालनाले अधिकांश सवारी दुर्घटना रोक्न सकिने धारणा व्यक्त गरे।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदी, नेपाल रेडक्रस सोसाइटी पर्सा का सभापति बृजकिशोर पटेल, प्याब्सन पर्सा का अध्यक्ष सरोजप्रसाद चौधरी, नेपाल इनोभेटिभ सोसाइटी पर्सा का अध्यक्ष कमल चौगाईं तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर का अध्यक्ष जयप्रकाश खेतान लगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार असार ९ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा ट्राफिक सचेतना अभिवृद्धि, सडक सुरक्षा प्रवर्द्धन तथा दुर्घटना न्यूनीकरणका विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ।
















