३ असार, काठमाडौं । वैदेशिक रोजगारीको सपना बोकेर परदेशिएका नेपालीहरूका लागि पछिल्लो समय निकै कष्टकर बन्दै गएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको अवधिमा मात्रै १ हजार २९४ जना नेपाली कामदारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । यसमध्ये केवल वैशाख महिनामा मात्रै १५३ जनाको मृत्यु भएको छ, जसले विदेशमा नेपाली श्रमिकहरूले भोग्नुपरेको असुरक्षाको भयावह अवस्थालाई उजागर गरेको छ ।
बोर्डको आधिकारिक विवरणले विगत १० वर्ष १० महिनाको अवधिमा ११ हजार ९८८ जना नेपालीले रोजगारीको सिलसिलामा ज्यान गुमाएको डरलाग्दो चित्र प्रस्तुत गरेको छ । तथ्यांक केलाउँदा पछिल्ला वर्षहरूमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०७२/७३ मा ८१६ जनाको मृत्यु भएकोमा, गत आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा यो संख्या १ हजार ५८३ मा पुगेको थियो ।
हरेक वर्ष बढ्दै गएको यो मृत्युदरले वैदेशिक रोजगारीको गन्तव्य मुलुकहरूमा नेपाली श्रमिकहरूको कार्यस्थलको अवस्था, स्वास्थ्य र सुरक्षाका मापदण्डप्रति गम्भीर प्रश्न खडा गरेको छ । रोजगारीका लागि गएका युवाहरूको बाकसमा फर्किने शृंखला नरोकिनु राष्ट्रका लागि नै चिन्ताको विषय बनेको छ ।
















