Logo

३ असार, काठमाडौं । समस्याग्रस्त सहकारीहरूमा फसेको सर्वसाधारणको बचत फिर्ता गराउने प्रयासमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीव्रता दिएको छ ।

समितिले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, जेठ महिनामा मात्रै १२ वटा सहकारीका ऋणीहरूबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ कर्जा असुली गर्न सफलता मिलेको छ ।

असुल भएको सोही रकमबाट समितिले ५९ लाख ४ हजार रुपैयाँ साना बचतकर्तालाई फिर्ता गरेको छ भने १ सय २२ जना बचतकर्ताको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत मिलान गरिएको छ । समितिले १० हजार रुपैयाँभन्दा कम बचत भएका १४ मध्ये ६ वटा सहकारीका बचतकर्ताहरूको सम्पूर्ण रकम फिर्ता गरिसकेको छ ।

बचत फिर्ता र ऋण असुलीको कामलाई थप व्यवस्थित बनाउन समितिले ‘समस्याग्रस्त सहकारी संस्था पुनः संरचना तथा व्यवस्थापन कार्यविधि २०८३’ लागू गरी नयाँ संगठनात्मक संरचनासहित कर्मचारी परिचालन गरेको छ । हालसम्म करिब ४४ हजार बचतकर्ताको मागदाबी प्रमाणीकरणको काम चरणबद्ध रूपमा भइरहेको छ भने साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने कार्य दैनिक रूपमा सञ्चालन गरिएको छ ।

सहकारीको रकम अपचलनमा संलग्न सञ्चालक तथा पदाधिकारीहरूको सम्पत्ति खोजबिन गर्न विशेष रणनीतिक टोली परिचालन गरिएको समितिले जनाएको छ । साथै, ऋणीहरूको पहिचान गरी सम्पत्ति रोक्का राख्ने तथा उनीहरूको तीनपुस्ते विवरण सार्वजनिक गर्ने प्रक्रियालाई पनि समितिले नियमित बनाएको छ ।


सम्बन्धित समाचार