Logo

जन्म कुण्डलीमा मांगलिक योग वा दोष रहनुलाई अशुभकारी मानिएको छ। मांगलिक वा मंगल दोषको कारण विवाहमा बाधा एवं अन्य समस्याहरु आउन सक्छन्। आज हामी यो लेखको माध्यमबाट सरल रूपमा जान्नेछौँ कि मांगलिक योग के हो एवं जन्म कुण्डलीमा मांगलिक योग छ वा छैन यो कसरी देखिन्छ। यसका साथै हामी मंगल दोष अर्थात् मांगलिक योगको शान्तिको सरल उपायहरु पनि बताउनेछौँ।

मांगलिक योग वा दोष के हो ?

मांगलिक योगको विचार मुख्य रूपले विवाहको समय गरिन्छ। मंगल क्रूर ग्रह हुनाको कारणले जन्म कुण्डलीमा मंगल ग्रहको स्थिति अनुसार मांगलिक दोष बन्दछ। विवाहको समयमा मंगल ग्रह वा  मांगलिक योगको विचार गर्नु महत्वपूर्ण हुन्छ। जन्म कुण्डलीमा मांगलिक दोष हुनाले मानसिक तनाव, परिवारमा कलह, दाम्पत्य जीवनमा तनाव, स्वास्थ्य सम्बन्धि समस्या, मुद्दा मामिला आदि समस्याको कारक हुन्छ ।

जन्म कुण्डलीमा मंगलदोष/मांगलिक योग छ वा छैन कसरी थाहा पाउन सकिन्छ ?

जन्म कुण्डलीको माध्यमबाट सबै ग्रहको भाव जान्न सकिन्छ। जन्मपत्रिकाको माध्यमबाट मांगलिक दोषको बारेमा पनि जान्न सकिन्छ। यदि जन्मकुन्डलीमा लग्न (1st), चतुर्थ (4th),सप्तम (7th), अष्टम (8th), द्वादश (12th) स्थानमा मंगल ग्रह रहेको छ भने मांगलिक दोष बन्दछ।

मांगलिक दोष विवाहको समयमा नै किन विशेष प्राथमिकताका साथ हेरिन्छ ?

मंगल क्रूर ग्रह हुनाको कारण विशेष रूपले मांगलिकको विचार विवाह गर्नुभन्दा पहिले कुण्डली मिलान गर्दा गरिन्छ। मंगल ग्रहलाई उग्रता, क्रोध, आवेश, शौर्य, शक्ति, शरीरमा रक्त, सौभाग्यको कारक ग्रह भनिन्छ। यदि मंगल कुण्डलीमा अशुभ  फल दिने भएर रहेको छ भने जातकलाई यी कुराहरुसँग सम्बन्धित समस्याको सामना गर्नुपर्ने हुन सक्छ।

यदि केटा वा केटी मध्ये कुनै एकको कुण्डलीमा मंगल ग्रह उग्र रहेको छ भने त्यसले दोश्रोलाई दबाउने प्रयास गर्दछ। यस्तो स्थितिमा विवाह पछि सुखी वैवाहिक जीवन निर्वाह गर्ने कुरामा सन्देह रहन्छ। मंगल ग्रह रगतको प्रतिनिधित्व पनि गर्दछ, त्यसैले यदि दोष कुनै एकको कुण्डलीमा छ भने त्यो दोश्रो जातकको लागि घातक बन्न सक्छ। यसले सौभाग्यमा कमी आउन सक्छ।

त्यस्तै मंगल ग्रह खराब हुनाले जीवनमा विभिन्न प्रकारका समस्याहरु पनि उत्पन्न हुन सक्छन्। मांगलिक दोषको सम्बन्धमा एउटा समस्या विवाह हुनमा समस्या हुनु पनि हो। मांगलिक दोषले मनुष्य जीवनको दाम्पत्य जीवनलाई प्रभावित गर्दछ। मांगलिक योगले व्यक्तिको विवाहमा ढिलाई तथा अन्य प्रकारको रोकावट पनि ल्याउन सक्छ।

मांगलिक दोष निवारणको उपाय

यदि मांगलिक दोषको कारण, केटा वा केटीको विवाहमा विघ्न आइरहेको छ भने ज्योतिष शास्त्रमा मंगल दोषको स्थिति अनुसार तपाईंले कुनै विद्वान ब्राह्मणसँग परामर्श लिएर मांगलिक शान्ति पुजा गर्नुपर्छ। केटाको लागि अर्क(आँक)को वृक्षसँग विवाह गर्नुपर्ने विधान छ भने केटीको लागि पीपल विवाह या कुम्भ विवाहको विधान छ। यसरी मांगलिक दोषको शान्ति गरेर विवाह गर्दा वैवाहिक जीवन सुखी र सफल हुन सक्छ। स्रोत ; मेरोज्योतिष


सम्बन्धित समाचार